दाङकाे सिद्धरत्ननाथ माविमा कोरियन भाषा पढाउन सुरु
दाङ | असोज ६, २०८१
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ ।
विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् ।
कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताउनुभयो ।
कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उहाँको भनाइ छ ।
वडा नं ११ डोक्रेना निवासी विद्यार्थी आयुष चौधरीले आफूले कोरियन भाषा सिक्न पाउँदा निकै खुसी लागेको बताउनुभयो ।
पाठ्यक्रममै कोरियन भाषा शिक्षा लिन पाउँदा आफूजस्तै सबै विद्यार्थी उत्साहित भएका उहाँले सुनाउनुभयो । आशा र आयुषजस्तै व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन् ।
“१२ कक्षा पास गरेपछिको गन्तव्य सबैको कोरिया नै हुन्छ भन्न सकिँदैन तर यसले भाषा सिक्न सहयोग पुग्नेछ”, विद्यार्थी आशा केसीले भन्नुभयो, “नेपाली, अङ्ग्रेजी विषय पढ्दै आएका हामीलाई कोरियन भाषा बिल्कुलै नयाँ विषय भएकाले उत्साहित बनाएको छ ।”
तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ ।
यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।
कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिनुभयो ।
उहाँकानुसार मावि तहमा अङ्ग्रेजी विषयबाहेक अरु विदेशी भाषाको पढाइ भित्र्याउने यो पहिलो विद्यालय बनेको छ ।
पाठ्यक्रममै कोरियन भाषा पढाउन पाउने प्रावधान रहेको हुँदा ऐच्छिक विषयका रूपमा विद्यालयमा कोरियन भाषाको विषय थप गरेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खनालले बताउनुभयो । पचहत्तर पूर्णाङ्कको लिखित परीक्षा र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्क भार रहने गरी पाठ्यक्रम तयार पारिएको छ ।
ऐच्छिक विषयका रूपमा थपिएको कोरियन भाषा विषयको कक्षा लिने विद्यार्थीले मासिक अतिरिक्त रु छ सय ५० शुल्क तिर्नुपर्छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर डाँगीले विद्यालयमा कोरियन भाषा कक्षा शिक्षकहरू कविराम चौधरी र श्यामलाल लहेरले पढाउने गरेको जानकारी दिनुभयो ।
कोरियन भाषा पठनपाठन सुरु गरे पनि यस विषयको पाठ्यपुस्तक पाउन कठिन भएको शिक्षक कविराम चौधरीले बताउनुभयो ।
अहिले पाठ्यक्रमअनुसार आफैँले पाठ्यसामग्री तयार गरेर पढाउने काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

